जनयुद्ध दिवसः माओवादीले गर्दैछन् फरक-फरक स्थानबाट यसरी स्मरण

काठमाडौं । २३ वर्षअघि आजकै दिन तत्कालीन नेकपा माओवादीले रोल्पा,  सिन्धुली र गोरखाबाट प्रहरी चौकी आक्रमण गरी सुरु गरेको सशस्त्र युद्धको सम्झनामा युद्धका घटक दलहरुले आज जनयुद्ध दिवस मनाउँदै छन्।

तत्कालीन युद्धको मूल पार्टी नेकपा माओवादी अहिले चार टुक्रामा विभाजित भएको छ। संस्थापनको रुपमा तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र मूलधारमा छ।

यस्तै, मोहन बैद्य तथा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा दुई दल छन्। तत्कालीन द्वन्द्वका एक हिस्सा डा. बाबुराम भट्टराईले कम्युनिष्ट धारबाट अलग भइ नयाँ सैद्धान्तिक धरातलमा नयाँ शक्ति नेपाल पार्टी गठन गरेका छन्।

चार टुक्रामा विभाजित माओवादीले आज फरक फरक स्थानमा जनयुद्ध दिवसको स्मरण गर्दैछन्। माओवादी केन्द्रका तर्फबाट पार्टी कार्यालय पेरिसडाँडामा २३औँ जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरिएको छ। जहाँ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्वोधन गर्नेछन्।

नेकपा (क्रान्तिकारी माओवादी) ले बृहत् अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ। जहाँ पार्टीका शीर्ष नेता सहभागी हुने कार्यक्रम छ।

क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले फरक रुपमा जनयुद्ध दिवस मनाइँन लागेको बताए। गजुरेलले सैद्धान्तिक बिचार नै फरक भएकाले मूल पार्टीसँगै कार्यक्रम गर्न नसकिएको बताए। माओवादी केन्द्रले जनयुद्ध दिवस मनाउनुको औचित्य नरहेको उनले बताए।

०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध सुरुवात गरेको सम्झानामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएका छन्। दशकभन्दा लामो सशस्त्र युद्धका क्रममा करिव १६ हजारको ज्यान गएको थियो।

०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताबाट द्धन्द्ध औपचारिक रुपमा अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्