चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता
काठमाडौं, माघ १४ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुई र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता भएका छन्।
यसैबीच चार पूर्व प्रधानन्यायाधीशविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
दर्ता हुनेमा पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध रहेका छन् ।
उनीहरुविरुद्ध बुधबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । अधिवक्ता लोचन भट्टराईले चार पूर्व प्रधानन्यायाधीशको संयुक्त वक्तव्यले अदालतको मानहानी गरेको भन्दै रिट दर्ता गरेका हुन्।
यसअघि सर्वोच्चले मंगलबार प्रक्रिया नमिलेको भन्दै फिर्ता पठाएको थियो तर आज भने दर्ता गरिदिएको बताएको छ । अब उक्त रिटमाथि सर्वोच्चले बिहीबार पेसी तोकेको छ।
पूर्व प्रधानन्यायाधीश रहिसकेका व्यक्तिले प्रेस विज्ञप्ति जारी गरी दिएको अभिव्यक्तिले सर्वोच्च अदालतले गरेका निर्णय, फैसलाहरु सबै आफ्नो निहित स्वार्थ अनुकुल हुनु पर्ने, अनुकूल भएको खण्डमा स्वागत गर्ने र अनुकूल नभएको खण्डमा तुरुन्त नकारात्मक धारणा, खण्डन र आलोचना गर्ने र गर्न मिल्ने रहेछ भन्ने कुरालाई लक्षित र प्रमाणित गरेको आरोप रिटमा लगाइएको छ।
यस्ता प्रकारका संविधान र कानून विपरीत कार्य गर्नु, निष्पक्ष र स्वतन्त्र तथा सक्षम न्यायालयलाई प्रभावित गर्ने गरी प्रेस विज्ञप्ती जारी गरी अदालतको अनआस्था फैलाउने कार्य विपक्षीबाट भएको निवेदनमा उल्लेख गरिएको छ ।
यस्तो कार्यले समाजमा अदालतप्रति विश्वास र स्वतन्त्र, सक्षम न्यायपालिकाको गरिमाप्रति अनास्था फैलाउने कार्यले अराजकतालाई प्रोत्साहन गर्ने भन्दै अवहेलनाको मुद्दा दर्ता गरेको भट्टराईले उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस्