हप्ता दिनभित्र थप ६ सय कर्मचारी प्रदेशमा खटाइने

काठमाडौं । हप्ता दिनभित्र थप ६ सय कर्मचारी प्रदेशमा खटाइने भएको छ । सामान्य प्रशासन मन्त्रालयले‍ एक साताभित्र सबै प्रदेशमा कर्मचारीको व्यवस्थापन हुने बताएको छ।

प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय, प्रदेशसभाको सचिवालय, आन्तरिक मामला मन्त्रालय, आर्थिक योजना मन्त्रालयमा आवश्यक कर्मचारी खटिसकेको र बाँकी कर्मचारी एक हप्ताभित्र खटिने सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानेले जानकारी दिए।

‘तत्काल कर्मचारी पुग्न ढिला भएको हो। तर एक हप्ताभित्र सबै प्रदेशमा कर्मचारी खटिनेछन्,’ सहसचिव न्यौपानेले भने, ‘कर्मचारीले अटेर गर्न सक्दैनन्। किनकी सरकारले खटाएको ठाउँमा जागिर खान जान्छौं भनेरै उनीहरट्ठले नियुक्ति लिएका हुन्छन। एउटा निकायबाट अर्को निकायमा जाँदा केही दिन तयारीको समय पाउँछ। सोही अुनसार उनीहरु तयारी गर्दै होलान्।’

मन्त्रालयले ८ सय ६४ जना कर्मचारी प्रदेशको लागि खटाइसकेको छ। बाँकी रहेका ६ सय जना १ हप्ताभित्र हाजिर हुने भएका छन्।

माघ २२ गतेको मन्त्रीपरिषद बैठकले सामान्य प्रशासन मन्त्रालयले खटाएका कर्मचारीलाई चिठी प्राप्त भएको २४ घन्टाभित्र तोकिएको प्रदेश कार्यालयमा हाजिर हुन पठाइदिन सबै सचिवलाई निर्देशन दिएको थियो।

सामान्य प्रशासनले पनि त्यही निर्देशनका आधारमा प्रदेश तहका निकायमा हाजिर हुन कर्मचारीलाई ताकेता गरिरहेको छ।

मन्त्रलायले कार्यालय चलाउन आवश्यक कर्मचारी खटिसकेको जनाएको छ। आवश्यक अन्य कर्मचारी महालेखा नियन्त्रकको कार्यालयबाट लेखा अधिकृत, कानुनका कर्मचारी कानुन मन्त्रालयबाट, संसद, अर्थ मन्त्रालय लगायतबाट पनि कर्मचारी पठाउनका लागि कुरा भइरहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्