१, २, ६ र ७ मा प्रदेशसभाको दोश्रो बैठक आज बस्दै :यस्तो छ तयारी

काठमाडौं । प्रदेश नम्बर १, २, ६ र ७ मा प्रदेशसभाको दोश्रो बैठक आज बस्दैछ । १, ६ र ७ मा बस्ने प्रदेशसभा बैठकले सभामुख चयन गर्नेछ ।

सभामुखका लागि प्रदेश नम्बर १ मा एमालेका प्रदीपकुमार भण्डारी, ६ मा एमालेकै राजवहादुर शाही र ७ मा एमालेकै अर्जुनवहादुर थापाको मात्र मनोनयन परेको छ । प्रदेशसभाको आजको बैठकले औपचारिक रुपमा उहाँहरुलाई सभामुख घोषणा गर्नेछ । प्रदेश सभा २ को विहान ११ बजेपछि बस्ने बैठकले भने कार्यविधि तयार पार्ने बताइएको छ ।

सो प्रदेशमा आगामी बुधबार सभामुखका लागि निर्वाचन हुँदैछ । त्यहाँ संघीय समाजवादी फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने सहमति दुई दलबीच भइसकेको छ ।

यसैबीच, माओवादी केन्द्रले प्रदेश नम्बर ५ मा रुकुमका पूर्णबहादुर घर्तीमगरलाई सभामुख बनाउने निर्णय गरेको छ । हिजो अबेरसम्म बसेको संसदीय दलको बैठकले घर्तीमगरलाई सर्वसम्मत चयन गरेको हो । सो प्रदेशमा आगामी बुधबार औपचारिक रुपमा सभामुख चयन गर्ने कार्यतालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्