सर्वोच्च अदालतले आज गठन गरेन संवैधानिक इजलास

काठमाडौं, पुस २४ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिसहितका विषयमा मुद्दा परे पनि आज (शुक्रबार) संवैधानिक इजलास गठन नगरिएको सर्वोच्च अदालतले जनाएको छ ।
संवैधानिक इजलास सातामा दुई दिन बुधबार र शुक्रबार तोकिने चलन छ ।

‘आज संवैधानिक इजलास गठन भएको छैन । त्यो पेसीको सूचीमा छैन,’ सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले भने । तर किन गठन भएन भन्नेबारे भने जानकारी नभएको उनले बताएका छन् ।

शुक्रबार संवैधानिक इजालसमा नयाँ मुद्दाको सुनुवाइ हुने गरेको छ । प्रधान न्यायधीशसहित ५ न्यायाधीश रहने गरी यस्तो इजालस गठन गर्ने गरिएको छ ।

परिषदबारे अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि विपक्षी बनाइएको छ । आफैं विपक्षी भएको मुद्दा प्रधानन्यायाधीश राणाले हेर्न नैतिक रूपमा नमिल्ने तर्क भइरहेको छ । आपतलीन कामका लागि अध्यादेश ल्याउने गरेको र निश्चित समयपछि यो आफैं निष्कृय हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्