रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु, अनुसन्धान गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं । रुसमा भएको विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ ।

मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जना लिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको हो ।

विमानमा रहेका ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य सबैको मृत्यु भएको हो । उडान भरेको दुई मिनेटमै राडार सम्पर्कबाट हराएको विमान लगत्तै दुर्घटना भएको हो ।

पाइलटले विमानमा खराबी आएको भन्दै आपतकालीन अवतरण गर्न लागेको बताएका थिए ।

काजकस्तानको सीमा क्षेत्र युरेल्सका लागि उडेको साराटोभ एयरलाइन्सको एन्टोनभ एन–१४८ विमान दुर्घटनाग्रस्त भएकोमा राष्ट्रपति भ्लादिमिर पुटिनले अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

उनले दुर्घटनामा परेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । रुसमा हालैका वर्षमा दुई ठूला जहाज दुर्घटना भएका छन् ।

सन् २०१६ र २०१५ मा भएका दुर्घटनाका क्रममा क्रमशः ९२ र २२४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्