काठमाडौंमा कैंची प्रहार गरी युवकको हत्या, भारतीय नागरिक पक्राउ

काठमाडौं, पुस २२ । काठमाडौंमा कैंची प्रहार गरी एक युवको हत्या गरिएको छ । यता हत्या गरेको आरोपमा प्रहरीले भारत मोतिहारी घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २५ वर्षीय सुबोध शर्मालाई पक्राउ गरिसकेको छ ।

उनलाई बुधबार बिहान साढे ५ बजे ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले बताए । उनीमाथि सोही ठाउँ बस्ने २५ वर्षीय कलाम मियाको हत्याको आरोप छ।

सुबोधले वडा नम्बर १६ बाइपास ओरालो तरुण मावि नजिकैको सडकखण्डमा मियालाई मंगलबार राति पौने १० बजे पछाडिबाट कैंची प्रहार गरी भागेका थिए। कैंची प्रहारपछि घाइते भएका कलामलाई आफन्तहरूले देखेर तत्कालै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज लगेको थियो तर कलामको सवा १० बजे उपचारको क्रममा मृत्यु भएको डिएसपी विष्टले बताए।

सुबोध शर्मालाई प्रहरीले वीरगञ्जतर्फ टाटा सुमो रिजर्भ गरी भागिरहेको अवस्थामा पक्राउ गरेको हो।महानगरीय प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार सुबोध र कलामबीच केही समयअघिदेखि विवाद सुरू भएको थियो।

सुबोधलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। उनलाई अहिले महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्