उखु किसानलाई भुक्तानी दिन सर्वोच्चद्धारा अन्तरिम आदेश

काठमाडौं, पुस १७ । सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषयसमेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौंसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना गर्नुपर्ने अवस्था छ, आदेशमा भनिएको छ ।

यो अवस्था आफैँमा अन्यायपूर्ण मात्र नभएर लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनु र दिलाउनु भन्ने आदेशमा उल्लेख छ ।

अधिवक्ता डा। पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्