राष्ट्रियसभाको मतपरिणाम आज राष्ट्रपतिसमक्ष बुझाईदै : आयोगलाई नामावली बुझाउन दलहरु आन्तरिक छलफलमा

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष वुझाउदै छ ।

मतपरिणाम सार्वजनिक भएको तीन दिन पछि आयोगले राष्ट्रियसभाको नतिजा राष्ट्रपति समक्ष वुझाउन लागेको हो । आयोगका प्रवक्ता नवराज ढकालका अनसार बिहान ११ वजे राष्ट्रपति समक्ष मतपरिणाम वुझाउने कार्यक्रम रहेको जानकारी दिए ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । निर्वाचनबाट छानिएका ५६ मध्ये एमालेका २७, कांग्रेसका १३, माओवादी केन्द्रका १२, राजपाका २ र फोरमका २ जना सांसदको प्रतिनिधित्व रहने छ ।

आयोगलाई नामावली बुझाउन दलहरु आन्तरिक छलफलमा
प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवाहरुको नामावलीलाई अन्तिम रुप दिन दलहरु बिहानै देखि छलफलमा जुटेका छन् । विजयीहरुको नाम बुझाउन निर्वाचन आयोगले भोलिसम्मका लागि मात्रै समय दिएकाले नाम टुंगो लगाउन दलहरु छलफलमा व्यस्त भएका हुन् ।

आयोगले सार्वजनिक गरेको सूची अनुसार पाँच वटा दलले समानुपातिक निर्वाचनमा थ्रेस होल्ड कटाएका छन । आयोगले समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र फोरमले समान ६–६ सिट जितेको जानकारी दिदै नाम पठाउन पत्राचार गरेको हो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय १० जना सांसद समानुपातिक तर्फबाट चुनिनेछन । आयोगले एमालेले ४१ मध्ये कम्तिमा ३७ महिलालाई प्रतिनिधि सभामा सिफारिस गर्नुपर्ने जनाएको छ ।

संविधानले संघीय संसदमा ३३ प्रतिशत सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

सोही व्यवस्था अनुसार अब कांग्रेसले ४० मध्ये २०, नेकपा माओवादीले १७ मध्ये १६ जना महिला पठाउनुपर्नेछ । राजपाले ६ मध्ये ५ नै तथा संघीय फोरमले ६ मध्ये ५ जना महिला सिफारिस गर्नुपर्ने भएको छ । आयोगले दिएको समयसिमा भोलि सकिने भएपछि दलहरु आजैदेखि आन्तरिक छलफलमा जुटेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्