६ प्रदेशका मुख्यमन्त्री निश्चित, ४ नम्बर प्रदेशको टुंगो आज लाग्ने

काठमाडौं । सात प्रदेशमध्ये ६ वटा प्रदेशका भावी मुख्यमन्त्री को हुने भन्ने निश्चित भैसकेको छ । प्रदेश ४ को भावी मुख्यमन्त्रीको टुंगो आइतबार लाग्दैछ ।

एमालेले प्रदेश ४ को प्रदेशसभाका लागि आफ्नो संसदीय दलको नेता आइतबार चयन गर्न लागेको हो । नेताहरु पृथ्वी सुब्बा गुरुङ्ग र किरण गुरुङ्गले दाबी नछोडेपछि प्रदेश संसदीय दलमा चुनावबाट दलको नेता चयन गर्न लागिएको एमालेले जनाएको छ ।

नेता पृथ्वी एमाले अध्यक्ष केपी ओली र किरण नेता माधव नेपाल पक्षका मानिन्छन् । एमाले संसदीय दलको नेता चुनिने व्यक्ति प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुल्नेछ ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेछन् । एमाले र माओवादीबीच ४ नम्बर प्रदेशको मुख्यमन्त्री एमालेले पाउने सहमति भैसकेको छ ।

यसअघि प्रदेश १ मा एमालेका शेरधन राई र ३ मा एमालेकै डोरमणि पौडेल संसदीय दलको नेता चयन भइसकेका छन् । प्रदेश २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित छ ।

प्रदेश ५ मा यसअघि नै एमालेका शंकर पोखरेल मुख्यमन्त्री हुने निश्चित भैसकेको छ । माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भईसकेका छन्।

प्रतिक्रिया दिनुहोस्