हङकङमा दुई तले बस पल्टिदाँ १८ जनाको मृत्यु, ६२ घाइते

काठमाडौं – चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। शनिबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा १५ जना पुरुष तथा ३ महिला रहेको बताइएको छ। मृतक सबैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अन्य ६२ जना घाइते भएका छन्। सरकारी अधिकारीहरुका अनुसार घाइतेमध्ये १० जनाको अवस्था गम्भिर छ भने १५ जनालाई धेरै मात्रामा चोट लागेको बताइएको छ।

शाटिनबाट ताईपोतर्फ हिँडेको दुई तले बस ताइपोको बसपार्क तर्फ मोडिने क्रममा अचानक पल्टिएको थियो। अधिकांश घाइतेहरु बसको माथिल्लो तलामा सवार रहेकाहरु भएको र अधिकांशलाई टाउकोमा बढी चोट लागेको प्रहरीले जनाएको छ। उद्धारकर्मीले दुर्घटनामा क्षतिग्रस्त बसको माथिल्लो भाग काटेर बसमा फसेका अन्य यात्रुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पठाएका थिए।

बसका चालकलाई नियन्त्रणमा लिई प्रहरीले घटनानाको अनुसन्धान शुरु गरेको जनाएको छ। घोडा दौडको दिनमा तय गरिएको विशेष सवारी रुटमा चलेको सो बसमा सवार अधिंकाश घोडा दौड खेलका प्रशंसक रहेको बताइएको छ। दुर्घटनामा पर्नुअघि बस तीव्र गतिमा रहेको घाइतेहरुले जानकारी दिएका छन्।

घाइतेलाई भेट्न हङकङका कार्यकारी प्रमुख लाम चेङ युएट ङोर बिरामीहरूलाई उपचार सेवा दिइराखिएको प्रिन्स अफ वेल्स अस्पताल पुगेका छन्।

यो दुर्घटना सन् २००३ मा एक दुई तले बस फ्लाइओभरबाट खसी कन्टेनरमा ठोक्किदा भएको दुर्घटनापछि कै सबैभन्दा धेरै मानवीय क्षती भएको घटना हो। सो दुर्घटनामा परी २१ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्