प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आजः सबैको नजर अदालतमा

काठमाडौं , पुस ८ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदैछ । सर्वोच्चमा परेका १३ मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो । अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने छ ।

नेकपामा आन्तरिक विवाद बढेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘मनोमानी’ रुपमा संसद विघटन गरेपछि सांसद र कानुन व्यवसायीहरुले रिट दर्ता गरेका थिए । यससँगै सरकारको कदमविरुद्ध सर्वोच्चमा १३ रिट पुगेका छन् ।

जुनसुकै इजलासमा सुनुवाइ भए पनि देशमा देखिएको ठूलो अन्योलको निरूपण गर्न अब सर्वोच्च अदालतको आदेश नै पर्खनुपर्ने छ । जसको केन्द्रमा छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । जो राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको यो मुद्दा कुन इजलासमा राख्ने भन्ने निर्णय गर्दैछन् । योसँगै अहिले सबैको नजर सर्वोच्च अदालतमा छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङसहित चार सांसदले मंगलबार संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्