त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता, गोताखोर घाइते

काठमाडौं । सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव चढेको जिप त्रिशूली नदीमा खस्दा सचिव यादवसहित दुईजनाको मृत्यु भएको छ । एकजना हराइरहेका छन् ।

कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा२झ ३१४० नम्बरको जिप शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३ सलाङघाटस्थित त्रिशूलीमा खसेको थियो ।

जिप खस्दा सचिव यादवसँगै जिपमा रहेका १५ वर्षीया उन्नति गुप्ताको मृत्यु भएको छ । सचिव यादवका २२ वर्षीय छोरा सन्तोष अझै बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र उद्धारमा खटिएका स्थानीयले त्रिशूलीमा खसेको जिपलाई बाहिर निकालेका छन् ।

घाइते गाडी चालक निरन्जन यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको समयमा जिप सचिव यादवले नै चलाएको पाइएको प्रहरीले जनाएको छ ।

त्रिशूलीमा हराइरहेकाको खोजीका लागि गएका सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर तारानाथ चापाइँ पानीमा डुबेर घाइते भएका छन् ।

उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्