गैंडाको खागसहित काठमाडौंबाट ५ जना पक्राउ

काठमाडौं, मंसिर २६ । काठमाडौंबाट गैंडाको खागसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य, ३९ वर्षका अनिल श्रेष्ठ, नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङ रहेका छन् ।

गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्री गर्न कोठामा राखिराखेको अवस्थामा गैंडाको खाग बरामद गरेको थियो ।

पक्राउ परेका व्यक्ति र बरामद गैंडाको खागलाई आवश्यक अनुसन्धानका लागि जिल्ला वन कार्यालय काठमाडौं हात्तीसार पठाइएको प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्