कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ , मंसिर २३ । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र मनोजकुमार शर्माको संयुक्त इजलाशले जग्गाको कित्ताकाट रोक्न माग गर्दै दायर रिटमा फैसला सुनाउँदै यस्तो आदेश दिएको हो ।साथै संयुक्त इजलासले यसअघि एक इजलासबाट जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको हो।

यसअघि न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले गत असोज ८ गते भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न आदेश दिएको थियो। खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशसँगै एकै आर्थिक वर्षमा एउटै कित्ताबाट एक भन्दा बढी कित्ताकाट गर्न पाउने सरकारी निर्णय कार्यान्वयन नहुने भएको छ।

प्रतिक्रिया दिनुहोस्