प्रधानन्यायाधीश पराजुलीको नागरिकता प्रतिलिपि माग गर्दै गोविन्द केसी पुन: प्रशासन जाने

काठमाडौं– प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि माग्दै डा गोविन्द केसीले पुन: जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निवेदन दिने भएका छन्।

गत १७ गते डा केसीले बबहरमहलस्थित सिडिओ कार्यालय पुगेर नागरिकलाई सूचना हकअन्तर्गत निवेदन दर्ता गरी पराजुलीको नागरिकता प्रतिलिपि माग गरेका थिए। तर प्रतिलिपि लिन पुगेको केसीसहितको टोलीलाई बुधबार रित्तो हात फर्काइएको थियो।

यसपालि पनि प्रतिलिपि उपलब्ध गराए थप कानुनी प्रक्रियामा जाने तयारी गरिएको केसीका समर्थक डा अभिषेक सिंहले बताए।

सिडिओ कार्यालयले निवेदनको जवाफमा पत्र दिँदै ‘प्रधानन्यायाधीश पराजुलीको नागरिकता माघ ९ मै सर्वोच्च अदालत पठाइसकिएको र मुद्दाको पक्षले नक्कल लिन पाउने नै हुँदा उपलब्ध गराइरहनु नपर्ने’ भनेको छ।

बुधबार डा केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल र डा अभिषेक सिंह प्रतिलिपि लिन सिडिओ कार्यालय पुग्दा सूचना अधिकारी ललितकुमार बस्नेतद्वारा हस्ताक्षरित पत्र थमाइएको हो।

न्यायाधीश पराजुलीले नागरिकताको प्रतिलिपि लिँदा उमेर सच्याएको आरोप डा केसीले लगाएका छन्। न्याय परिषदले कायम गरेको नागरिकताको विवरण र पराजुलीले पेश गरेको नागरिकताको प्रतिलिपिमा उल्लिखित जन्ममिति फरक रहेको विषयमा लामो समयदेखि विवाद छ।

डा केसीले तनहुँ स्थायी घर भएका पराजुलीको नाममा जिप्रका काठमाडौंले फरक-फरक समयमा फरक-फरक उमेर उल्लेख गरी जारी गरेका नागरिकता प्रमाणपत्रका प्रतिलिपिहरु माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्