कोइला खानीमा परेर २३ जनाको मृत्यु

काठमाडौं , मंसिर २१ । कोइला खानीमा परेर २३ जनाको मृत्यु भएको छ । चीनमा रहेको एक कोइला खानीमा भएको दुर्घटनामा परेर कम्तीमा पनि २३ जनाको मृत्यु भएको हो । चीनको चोकिङमा रहेको एक कोइला खानीमा सो दुर्घटना भएको हो ।

यस कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइडको मात्रा बढी रहेकोले ग्याँस विस्फोट भएको थियो । त्यस दुर्घटनामा परेर २३ जनाको ज्यान गएको थियो ।

त्यस दुर्घटनामा परेका अर्का एकजनालाई भने उद्धार गरेर बाहिर निकालिएको यहाँका उद्धारकर्मी तथा मजदुरहरुले जानकारी दिएका हुन् । चीनको समाचार समिति सिन्ह्वाले दिएको समाचारमा शुक्रबार अपरान्ह पाँच बजेतिर सो खानीमा उक्त दुर्घटना भएको थियो ।

त्यो कोइला खानी करिब दुई महिना अघिदेखि बन्द गरिएको थियो ।सरकारले तय गरेका सुरक्षाका मापदण्डहरु पूरा नगरेको भनेर उक्त कोइला खानी बन्द गरेकोमा हालैमात्र त्यसलाई सञ्चालनमा ल्याइएको थियो ।

यस दुर्घटनापछि यस खानीको पनि अनुसन्धान गरिने भएको यहाँको प्रहरीले जानकारी दिएको छ ।चीनमा कोइला खानीमा बारम्बार यस्ता ठुला दुर्घटनाहरु हुने गर्दछन् । यसरी कयौंले अकालमै ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस्