कोरियामा कार्यरत नेपालीमा मानसिक समस्या बढ्दै , बढ्नुको कारण यस्तो छ

काठमाडौं । दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ ।

कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान क्रुको जिम्मा लगाएका हुन् । उनी कार्यरत शहर ख्वागंजुबाट सँगै काम गर्ने साथीसँग सोल आउने क्रममा सम्पर्कविहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो ।

मानसिक समस्या देखिएका यी युवाजस्तै अरु धेरै नेपालीलाई यसैगरी नेपाल पठाएको एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामाले बताइन् । करिब ४ महिनामा एक महिलासहित पाँचजना नेपालीलाई फर्काइएको उनले बताइन् ।

लिखित तथ्यांक नभए पनि एक दशक अवधीमा यस्ता समस्यामा परेका करिब डेढ सय नेपाली कोरियाबाट फर्केको लामाको दाबी छ । कति त उपचारपछि पुनः कोरिया आई काम गरिरहेको पनि उनले बताइन् ।

केही समयअघि मानसिक समस्या देखिएका एक महिलालाई नेपाल पठाइए पनि अभिभावकले फेरि कोरिया नै फर्काइ दिएका थिए । त्यस्तै कृषिमा कार्यरत एक युवालाई मानसिक समस्या देखिएपछि नेपाल फर्काउन लाग्दा परिवारले केही दिनपछि आउनु भनेपछि उनले आत्महत्या गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्