भूकम्पपीडितले दोस्रो किस्ता बुझ्ने म्याद थपिने

काठमाडौँ । भूकम्पपीडितले आवास अनुदानको दोस्रो किस्ता लिने म्याद थपिने भएको छ । यसअघि ०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने निजी घरधनीले गत पुस मसान्तमा दोस्रो किस्ता लिइसक्नुपर्ने म्याद रहेकोमा त्यसलाई आगामी चैत मसान्तसम्मका लागि थप्ने तयारी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

यसअघि ०७३ पुस मसान्तभित्र पहिलो किस्ता बुझेका लाभग्राहीले पुस मसान्तभित्र दोस्रो किस्ता र जेठ ०७५ भित्र तेस्रो किस्ता लिइसक्नुपर्ने म्याद तोकिएको थियो । तर, पुनर्निर्माणमा जनशक्तिको अभाव, सरकारी प्राविधिक गाउँमा नहुने समस्यालगायतले धेरै भूकम्पपीडितले घर बनाउन सुरु नै गर्न पाएका छैनन् ।

प्राधिकरणका अनुसार पहिलो किस्ता बुझिसकेका र घर पुनर्निर्माण डिपिसी तहसम्म पु-याएका लाभग्राहीले दोस्रो किस्ता प्राप्त गर्न सक्छन् । त्यसका लागि स्थानीय तहमा खटिएका प्राविधिकसँग जाँच गराई सिफारिस लिनुपर्छ । तेस्रो किस्ता लिनका लागि भने घर निर्माण सम्पन्न गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्