बलात्कारको घटना मिलापत्र गराउने वडाध्यक्षसहित ६ जना पक्राउ

काठमाडौं, मंसिर १४ । बैतडीमा १ तोला सुनको प्रलोभन देखाएर बलात्कारको घटना मिलापत्र गराउने कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिगास गाउँपालिका ३ बस्ने सोही वडाका वडा अध्यक्ष ४५ वर्षीय शेरसिंह साउद, सोही ठाउँ बस्ने ४० वर्षीय मनोज सिंह धामी, ४० वर्षीय अमर सिंह धामी, सोही गाउँपालिका ३ मैनोला बस्ने ३२ वर्षीय राजेन्द्र सिंह धामी, सोही गाउँपालिका ३ ढुम गाउँ बस्ने ३५ वर्षीय नरेन्द्र भन्ने नर बहादुर धामी र ३१ वर्षीय पुरुष छन् ।

१८ वर्षीया किशोरीलाई बलात्कार गरेको घटनालाई झैझगडा भएको भनी पीडित किशोरीलाई फकाइ एकतोला सुन दिने प्रलोभन देखाई मिलापत्र कागज बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

सोही गाउँपालिका बस्ने २१ वर्षीय दीपक सिंह धामीले गत जेठ २३ गते बिहान ती पानी भर्न जाँदा बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।उक्त घटनाबारे गत असारमा वडाअध्यक्ष साउदलाई जानकारी गराउँदा यो कुरा घरमै मिलाउनु पर्छ भन्दै दीपकको कसूर लुकाउन मिलापत्र गरेको खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले मनोज र अमरलाई बिहीबार तथा साउद सहित अन्य ४ जनालाई हिजो पक्राउ गरेको हो । हाल फरार रहेका अभियुक्त दिपक सिंह धामीको खोजी र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्