बलात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर १४ । सर्वोच्च अदालतले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन पाठक र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश गरेको हो ।

विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो ।

उच्च अदालतको आदेशलाई बेरितको भन्दै रितअनुसारको आदेश माग्दै कृष्णदासले सर्वोच्चमा निवेदन गरेका थिए । तर, सर्वोच्चले उच्चको आदेश रितअनुसारको भन्दै कानुनबमोजिम गर्न आदेश गरेको छ ।

१४ पुस ०७५ मा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा बाहिर बसेर पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरेको थियो ।

उच्चले थुनामा राख्ने आदेश गरेपछि भारततर्फ फरार भएका अभियुक्त कृष्णदास पछि आफैँ अदालतमा हाजिर भएपछि उनी सुनसरीको झुम्का कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै साधक महिलालाई ४ कात्तिक २०७६ मा बलात्कार गरेको आरोप कृषदासलाई लागेको थियो । आरोपी महिलाले किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा भर्ना भएका थिए ।

सुनसरी प्रहरीले उनलाई १६ कात्तिकमा पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्