जाडोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने ,विज्ञहरुले दिए यस्तो चेतावनी

काठमाडौँ , मंसिर १३ । चिसोयाममा कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन् । चिसोमा आरएनए भाइरस वृद्घि हुन सक्ने भएकाले नियमित रूपमा सही तरिकाले मास्कको प्रयोग, सामाजिक दूरी र हातको सरसफाइमा ध्यान दिन उनीहरूको सुझाव छ । नेपालमा कोरोनाको पहिलो लहर नसकिँदै दोस्रो लहरमा संक्रमण बढ्न सक्ने उनीहरूको विश्लेषण छ ।

‘नेपाल र उत्तरी भारतमा दोस्रो लहर जाडोयाममा आउन सक्ने उच्च सम्भावना छ ।नेपालमा सुरुवाती अवस्थामा क्वारेन्टाइनमा रहेका र विदेशबाट आएकाहरूमा आयातित संक्रमण थियो । हाल कोरोनाको पहिलो लहर आएर संक्रमण विस्तार भइरहेको विज्ञ बताउँछन् । हाल नेपालमा संक्रमण घट्दो क्रममा देखिए पनि मृत्यु बढ्दो क्रममा छ । पीसीआर परीक्षणसमेत पहिलेको दाँजोमा कम छ ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले यसै साता चेतावनी जारी गर्दै दक्षिण र पश्चिम एसियाली मुलुकमा कोरोनाको दोस्रो तरंग आउने भएकाले सावधान रहन भनेको छ । डब्लूएचओका पूर्वी भूमध्यसागरीय क्षेत्र निर्देशक अहमद अल मन्धारीले दक्षिण पश्चिम एसियाली मुलुकलाई दोस्रो लहरको सामना गर्न तयार हुन भनेका छन् ।

विज्ञका अनुसार रोकथामको उचित उपाय नअपनाउँदा कोरोना संक्रमण डरलाग्दो गरी तीव्र रूपमा फैलिन्छ । संक्रमणको संख्या एक सातामै आठ गुणासम्म बढ्न सक्छ । आगामी सात दिनमा ४० गुणाको दरले फैलिन सक्ने, तेस्रो साता तीन सय र चौथो साता हजार गुणाले फैलिने विज्ञहरूले अनुमान गरेका छन् ।

यता विज्ञहरूले कोरोनाविरुद्धको खोप नआउन्जेल जाडोयाममा मौसमी रुघाखोकी, निमोनिया आदिको खोप लगाउनु फाइदाजनक हुन सक्ने औंल्याएका छन् ।देशभर २ लाख २९ हजार ३४३ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ३५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

कोरोना संक्रमणबाट जोगिन मास्कको उचित उपयोग अत्यन्त प्रभावकारी देखिएको छ ।अर्को व्यक्तिसँगको न्यूनतम एक मिटरको दूरी कायम राखे संक्रमित हुनबाट जोगिन सकिन्छ । स्वस्थ देखिने व्यक्तिसँग समेत दूरी कायम राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्