माल्दिभ्समा राजनीतिक संकटः हस्तक्षेपका लागि भारत र अमेरिकालाई आह्वान

काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नाशीदले राष्ट्रपति अब्दुल्ला यामीनले संकटकालको घोषणा गरेपछि उत्पन्न राजनीतिक संकटमा हस्तक्षेप गर्न भारत र अमेरिकालाई आह्वान गरेका छन् ।

निर्वासनमा रहेकाा नाशीदले सेना सहितको दूत पठाएर माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारतलाई अनुरोध गरेका हुन् ।

ट्वीटरमार्फत् नाशीदले माल्दिभ्सका जनताको तर्फबाट भन्दै पक्राउ गरिएका न्यायाधीश र राजनीतिक बन्दीको रिहाइका लागि सत्तारूढ नेताहरूका सबै आर्थिक कारोबार रोकिदिन भारत र अमेरिकालाई गुहारेका छन् ।

माल्दिभ्समा सुरक्षा सैन्यले सर्वोच्च अदालतमा हस्तक्षेप गरी दुई जना वरिष्ठ न्यायाधीश र अर्का पूर्वराष्ट्रपति मौमून अब्दुल गयूमलाई पक्रेपछि नाशीदले यो आह्वान गरेका हुन् ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले राजनीतिक बन्दीलाई रिहा गर्न सर्वोच्च अदालतले दिएको आदेश मान्न राष्ट्रपति यामीनले अस्वीकार गरेकामा चिन्ता व्यक्त गरेको थियो ।

विपक्षीहरूले राष्ट्रपति अधिनायकवादी दिशमा अगाडी बढेको आरोप लगाएका छन् ।

विपक्षी राजनीतिज्ञहरुलाई रिहा गर्न आदेश दिएपछि रुष्ट बनेको सरकारले संकटकाल घोषणा गरेर प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अली हमिदलाई पक्रेको थियो ।

सर्वोच्च अदालतले सन् २०१५ मा निर्वासनमा बसेका पूर्व राष्ट्रपति मोहम्मद नाशिदमाथिको सुनुवाइ पनि असंवैधानिक भएको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्