प्रदेश २ मा भाषा विवाद, संघीय फोरम र राजपा विरुद्ध प्रदर्शन ,जल्यो फोरम र राजपाको पुत्ला

काठमाडौं  । प्रदेश सरकार गठनको गृहकार्यमा व्यस्त प्रमुख दलहरु संघीय फोरम र राजपाविरुद्ध मंगलबार प्रादेशिक राजधानी जनकपुरमा प्रदर्शन भएको छ ।

प्रदेशसभाको प्रथम बैठकमा मैथिली भाषालाई उपेक्षा गरेको भन्दै स्थानीय युवाले दुवै पार्टीका शीर्षस्थ नेताहरुले पुतला दहन गरे । मधेसी समुदायको बाहुल्यता रहेको यस प्रदेशमा नेपाली भाषाको विकल्पमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा कायम गर्ने पक्षमा मधेस केन्द्रित दल देखिन्छन् ।

सप्तरीदेखि सर्लाहीको मध्यपूर्वी भागसम्मका भाषा अभियन्ताले भने प्रदेशको नाम मिथिला र सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने दावी गर्दै आएका छन् । यसका लागि एक वर्गले निरन्तर आन्दोलनसमेत गर्दै आएको छ ।

गत आइतबार जनकपुरमा बसेको पहिलो प्रदेशसभा बैठकमा जम्मा ८ जना वक्ता बोलेकामा चारजनाले मैथिली र चारले हिन्दीमा सम्बोधन गरे । कांग्रेस, एमाले र माओवादीका प्रदेश सांसदले मैथिली बोले । पहिचानवादी आन्दोलनको बलमा स्थापित दलका प्रतिनिधिले हिन्दी भाषामा सभामा सम्बोधन गरे ।

प्रदेशसभाको अधिवेशन सुरुवातमै हिन्दी भाषाको प्रवर्द्धन हुन थालेपछि विरोध गर्नुपरेको स्थानीय युवा विटु पजियारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्