सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीमा कोरोना पुष्टि

काठमाडौं , मंसिर २ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह पनि कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनका स्वकीय सचिव जङ्गबहादुर विकले मन्त्री शाहको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का कूल सङ्क्रमित १० हजार ५३५ पुगेका छन् । तीमध्ये आठ हजार ८१३ सङ्क्रमित उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्