थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १ हजार २०७ संक्रमित

काठमाडौं, कार्तिक २८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७०२२ रहेको छ ।पछिल्लो २४ घण्टामा थप ३५३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६८ हजार १२९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ रहेको थियो ।यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।संक्रमित हुनेमा ५२६ महिला र ६८१ पुरुष रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८० गरी १ हजार २०७ जनामा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्