भोलि हुने राष्ट्रियसभा चुनावको सबै तयारी पूरा

काठमाडौं । भोलि हुने राष्ट्रियसभा चुनावको लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दुई नम्बर प्रदेशमा सबै निर्विरोध भैसकेकाले बाँकी ६ वटा प्रदेशमा भोलि चुनाव हुनेछ । प्रदेश नं. १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेको छ । अब ३२ सिटका लागि मात्रै चुनाव हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

हरेक प्रदेशबाट कम्तीमा ३ जना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ । राष्ट्रियसभा चुनाव नहुँदा दुई महिनाअघि सकिएको प्रतिनिधिसभा चुनावको अन्तिम नतिजा घोषणा हुन सकेको छैन ।

यसबाट नयाँ सरकार गठन प्रक्रियासमेत अवरुद्ध भएको छ । राष्ट्रियसभा चुनावको परिणाम आएलगत्तै प्रतिनिधिसभाको समानुपातिकको परिणाम घोषणा गर्ने आयोगले जनाएको छ ।

राष्ट्रियसभा चुनावको परिणाम पर्सि २५ गते आइसक्ने र २६ गते यसको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने आयोगको लक्ष्य छ । आयोगका अनुसार फागुन ५ गतेभित्र चुनावको सबै परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्