कोरोनाबाट एकैदिन १६ जना संक्रमितको मृत्यु

काठमाडौँ , कार्तिक २५ । मोरङमा नौ जनासहित थप १६ जना कोरोना भाइरस संक्रमितको ज्यान गएको छ ।मृत्यु हुनेमा मोरङमा ९, बर्दियाका दुई, दाङका एक, रुपन्देहीका दुई, कपिलवस्तुका एक र चितवनका एक जना छन् ।

मोरङमा मात्रै पछिल्लो १२ घण्टाभित्र नौ जनाको मृत्यु भएको हो । मोरङमा १२ घण्टाभित्र कोरोना भाइरसका कारण मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।

आठ जनाको उपचारका क्रममा विराटनगरका विभिन्न कोभिड अस्पताल र एक जनाको आफ्नै घरमा मृत्यु भएको छ ।मृत्यु भएकामध्ये सात पुरुष र दुई महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलबार बिहान पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई, न्युरो अस्पतालमा एक र होम आइसोलेसनमा एक जनाको ज्यान गएको छ ।तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको बिहान ८स्२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको अस्पतालका व्यवस्थापक नारायण दाहालले बताए ।झापा गौरादह–५ का ६५ वर्षीय वृद्ध पुरुषको पनि बिहान ८: २५ बजे नोबेलमै मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको दाहालले बताए ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि बिहान ५: ४५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते भर्ना गरिएका उनको बिहान ५:३० बजे मृत्यु भएको जानकारी दाहालले दिए ।

मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्ध पुरुषको बिहान ६: ३० बजेतिर नोबेलमै ज्यान गएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको दाहालले बताए ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६९ वर्षीया वृद्धाको मंगलबार बिहान ज्यान गएको छ ।सुनसरीको इटहरी–५ की वृद्धाको बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि वृद्धालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि कोशी कोभिडमै मृत्यु भएको छ । उनको बिहान ७स्३० बजे मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरको न्युरो अस्पतालमा उपचाररत मोरङको कटहरी–२ का ५० वर्षीय संक्रमित पुरुषको सोमबार राति ९स्५० बजे मृत्यु भएको छ ।निमोनियाको समस्या रहेका पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धाको घरमै ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका( ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८: १५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ ।नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर( १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

यस्तै रुपन्देहीमा एक स्वास्थ्यकर्मीसहित दुई जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितले ज्यान गुमाएका हुन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया स्वास्थकर्मी महिलाको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । उनी लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य केन्द्रकी सिनियर अनमी हुन् ।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा मृत्यु भएको छ । उनीमा कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको थियो ।अस्पतालका अनुसार उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । उनी दमको दीर्घरोगी थिए ।

त्यस्तै कपिलवस्तुका एक कोरोना संक्रमितको पुरुषको बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक २३ गते बिहान १० बजे अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका ती पुरुषको दिउँसो २ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । अस्पतालका अनुसार उनको सोमबार राति ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्