देशभर आइसियु र भेन्टिलेटरमा ४ सय ९४ संक्रमित उपचाररत, कुन प्रदेशमा कति ?

काठमाडौं , कार्तिक २४ । पछिल्लो २४ घण्टामा ४ सय ९४ जना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ। आइसियुमा ४११ र भेन्टिलेटरमा ८३ जना छन्। देशभर लक्षणसहितका कोभिड-१९ का संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या प्रतिदिन बढ्दै गएको छ।

आइसियु (सघन उपचार कक्ष) मा गम्भीर बिरामीको उपचार गरिन्छ भने त्योभन्दा पनि सिकिस्त बिरामीलाई कृत्रिम श्वासप्रश्वास अर्थात् भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।

गम्भीर बिरामी परेका सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। जसअनुसार २ सय ४ आइसियु, भेन्टिलेटरमा ५२ र होम आइसोलेसनमा ११ हजार १ सय ३१ रहेका छन्।

लुम्बिनी प्रदेशमा २ हजार २ सय २ होम आइसोलेसनमा छन्। आइसियुमा ५४ र भेन्टीलेटरमा ६ जना छन्। प्रदेश १ को होम आइसोलेसनमा ४ हजार ६ सय ५५, आइसियुमा ४९ र भेन्टीलेटरमा १३ संक्रमित छन्।

गण्डकी प्रदेशको होम आइसोलेसनमा १ हजार ७ सय ४८,आइसियुमा ७२ र भेन्टीलेटरमा ९ जना छन्। प्रदेश २ मा ८ संक्रमित आइसियुमा र भेन्टिलेटरमा २ जना उपचाररत छन्। होम आइसोलेसनमा १ हजार ६ संक्रमित छन्।

कर्णाली प्रदेशको विभिन्न जिल्लामा गरी होम आइसोलेसनमा बस्नेको संख्या ३ सय ९ पुगेको छ। आइसियुमा ९ जना उपचाररत छन्। त्यसैगरी, सुदूरपश्चिममा होम आइसोलेसनमा बस्नेको संख्या ७ सय ८५ र आइसियुमा १५ र भेन्टिलेटरमा १ जना संक्रमित उपचाररत छन्।

मनाङमा छैनन् सक्रिय कोरोना संक्रमित

नेपालका कुल ७७ वटा जिल्लामध्ये मनाङ जिल्लामा मात्रै सक्रिय कोरोना संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आज अपरान्ह स्वास्थ्य मन्त्रालयको फेसबुक पेजमा दिइएको विवरणका अनुसार मनाङमा सक्रिय संक्रमित नभएको बताइएको छ ।

सोमबार देशभर थप २५ सय ७१ जना संक्रमित थपिए भने १७ सय ९८ जना कोरोनामुक्त भएका छन्। त्यस्तै, सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप १८ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ११ सय २६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्