कोरोना संक्रमणबाट मोरङमा दाजुभाइको मृत्यु

काठमाडौं, कार्तिक २४ । मोरङमा कोरोना संक्रमणबाट दाजुभाइको मृत्यु भएको छ । केराबारी गाउँपालिका –३ मा ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको हो ।वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भाइको मृत्युले शोकमा डुबेको परिवारमा दाजुको मृत्युपछि थप शोक थपिएको छ ।

केराबारी गाउँपालिका–३ का ५९ वर्षीय पुरूषको आइतबार र उनको ५७ वर्षीय भाइको १८ कात्तिकमा मृत्यु भएको हो ।आइतबार मृत्यु भएका ५९ वर्षीय पुरूषमा ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृतकका ५७ वर्षीय भाइमा भने ५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा १८ कात्तिकमा मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका उनी शिक्षक हुन् । यस अघि झापामा पनि कोरोना संक्रमणका कारण दाजुभाइको मृत्यु भएको थियो ।

उता १४ भदौमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आमा छोराको मृत्यु भएको थियो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट हिजो मात्रै २१ जनाको मृत्यु भएको थियो भने दुई हजार ८१७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्