सरकारको अनुमान – माघ मसान्तसम्म डेढ लाख जनामा कोरोना संक्रमण हुनसक्छ

काठमाडौं , कार्तिक २१ । पछिलो समय नेपालमा कोरोनाका बिरामी बढ्दै जान थालेका छन् । संक्रमीत मात्रै होइन कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ मसान्तसम्म थप १ लाख ४८ हजार जनामा कोरोना संक्रमण हुन सक्ने अनुमान गरेको छ ।

कात्तिकदेखि आगामी माघसम्म थप १ लाख ४८ हजार नयाँ संक्रमित थपिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षण अर्यालले बताए ।‘यसको उपचार र व्यवस्थापनको व्यवस्थाका लागि अर्थ मन्त्रालयसँग मिलेर काम गरिरहेका छौं’ उनले भने ।

पहिलो चरणमा असोजसम्म सक्रिय संक्रमितको संख्या मध्यम रहेमा ३९ हजार र बढी रहेमा ९१ हजारसम्म पुग्न सक्ने अनुमान गरेको उनले बताए ।

‘अहिले हामी दोस्रो फेजको माघसम्मको योजना बनाएर काम गरेका छौं’ उनले भने । आगामी जोखिमको तयारीमा रहनका लागि सरकारले स्थानीय तह, जिल्ला, प्रदेश र संघीय अस्पताल निर्माणका लागि बजेट पठाइसकेको अर्यालले बताए ।

उनले सरकारले कोरोना रोकथाममा मात्रै लागेर नहुने पनि बताए । स्वास्थ्य मन्त्रालयले मात्रै कोरोनाको उपचारको व्यवस्थापन गर्न नसक्ने उनले बताए । यसका लागि सबैले आफै सचेत भएर अगाडि बढ्न पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्