नेपालका २५० चामल उद्योग बन्द, भारतकै भर
काठमाडौं । भारतीय तयारी चामलसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्सा र बाराका २ सय ५० चामल उद्योग बन्द भएका छन् ।
स्वदेशी धानले चामल उद्योगको माग धान्न नसक्ने अवस्थामा भारतबाट धान आयात गर्नुपर्ने बाध्यता रहेको तर भारतबाट धानको साटो चामल बढी आयात भएकाले यहाँका चामल उद्योग संकटमा परेका हुन् ।
एक वर्षयता केही उद्योगले भारतबाट चामल ल्याएर आफ्नो ब्रान्डका बोरामा प्याक गरी बजारमा पठाउन थालेपछि आफैं चामल उत्पादन गर्ने उद्योगहरू झन् समस्यामा परेका छन् ।
प्रसौनीस्थित राइस मिल व्यवसायी विनय साह ७ वर्षअघिसम्म पर्सा बारामा करिब ३ सयको संख्यामा रहेका चामल उद्योगमध्ये २ सय ५० बन्द भइसकेका बताउँछन् । हाल ४०–५० मा सीमित भएका चामल उद्योगमध्ये पनि आधाजसो संकटग्रस्त भएर बन्द हुने अवस्थामा रहेको उनले बताए ।
अवैध बाटोबाट पनि दैनिक ठूलो परिमाणमा चामल भित्रिन्छ । पेसेवर ढुवानीकर्ताहरूले वीरगन्जका किराना पसलहरूसम्मै चामल ढुवानी गरी ल्याइदिने गरेकाले नेपाली चामलभन्दा सस्तो पर्ने भारतीय चामल सहजै बजारमा पाइन्छ ।
एक अर्बको चामल आयात
चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा वीरगन्ज नाकाबाट झन्डै १ अर्ब रुपैयाँको चामल आयात भएको छ । भन्सार तथ्यांकअनुसार ९९ करोड ८१ लाख रुपैयाँ बराबरको १ करोड ९८ लाख किलो चामल आयात भएको छ । गत आवको यसै अवधिमा ८८ करोड ८३ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख किलो चामल यो नाकाबाट आयात भएको थियो । तुलनात्मक रूपमा झन्डै २३ लाख किलोभन्दा बढी चामल चालु आवमा आयात भइसकेको छ ।
२ वर्षअघि ६ महिना लामो बन्द हडतालमा ७ अर्ब रुपैयाँभन्दा बढीको नोक्सान व्यहोरेका यहाँका चामल उद्योगले बन्द हडतालपछि पनि धान अभाव र लोडसेडिङजस्ता समस्या व्यहोर्नुपरेको मोहित एग्रो इन्डस्ट्रिजका व्यवस्थापक एवं वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोधकुमार गुप्ता बताउँछन् ।
भारतले सार्क मुलुकमा बासमतीबाहेक अन्य धानको निर्यातमा लगाएको रोक सन् २०११ को सेम्प्टेम्बर ९ बाट फुकुवा गरेपछि त्यसयता भारतबाट तयारी चामल ठूलो परिमाणमा आयात हुन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्