काँग्रेस शीर्ष नेताको बैठक स्थगित : आ–आफ्नो अडानमा देउवा–पौडेल पक्ष

काठमाडौं , कार्तिक १८ । नेपाली काँग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ। पार्टीका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेको सूर्यबहादुर केसीको निधन भएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो ।

केसीको निधनको शोकमा मंगलबार दिउसो १ बजेलाई निर्धारित शीर्ष तहका नेताको बैठक स्थगित भएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । महतका अनुसार केसीको निधनमा पार्टी केन्द्रीय कार्यालय एक दिन बन्द रहने र तीन दिन पार्टी झण्डा झुकाउने छ।

पार्टीमा उत्पन्न विवादको समधानका लागि सोमबार काँग्रेस शीर्ष नेताहरुबीच छलफल भएको थियो । सोमबारको बैठकमा विवादित विषयमा समाधान ननिस्किएपछि मंगलबार १ बजे बस्ने गरि बैठक स्थगित भएको हो ।

काँग्रेसमा पछिल्लो समय पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूसमेत गरी २७ जनाले हस्ताक्षर गरेर पार्टी केन्द्रीय कार्यालयमा दर्ता गराएको ज्ञापनपत्रमाथि छलफल भइरहेको छ । यसअघि सोमबार सुरु भएको अनौपचारिक बैठकमा उपसभापति विमलेन्द्र निधिले पौडेल पक्षले दर्ता गराएको ज्ञापनपत्रको बुँदागत व्याख्या गरेका थिए ।

यसअघि असोज १७ गते पनि उक्त विषयमा काँग्रेस शीर्ष नेताबीच छलफल भएको थियो । केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएपछि छलफल स्थगित भएको थियो ।

तर संस्थापनपक्षीय नेताहरूले पौडेल पक्षको ज्ञापनपत्रमाथि प्रस्टीकरण मात्र दिएपछि विवाद समाधान हुन सकेको छैन ।यता आफूले उठाएका विषयमा छिनोफानो नभइ महाधिवेशनको तालिकाका विषयको छलफल हुन नदिने पौडेल पक्षको अडान छ ।

तर पौडेल पक्षले उठाएका विषय वास्तविक नभइ चुनावी मुद्दा मात्रै रहेको संस्थापन पक्षको टिप्पणी छ । २१ गतेको बैठकको मुल एजेण्डा नै महाधिवेशनको कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्