माल्दिभ्समा राजनीतिक संकटः अदालतको आदेश नमान्न निर्देशन

काठमाडौं । माल्दिभ्स सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो ।

यो आदेशसँगै माल्दिभ्समा विपक्षी दलले संसद्मा बहुमत प्राप्त गरेको छ । तर माल्दिभ्स सरकारले अदालतको आदेश अस्वीकार गर्दै संसद् नै स्थगित गरिदिएको छ ।

अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले राष्ट्रपतिलाई गिरफ्तार गरिनु गैरकानुनी हुने बताए । उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगाए ।

उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश दिए त्यो असंवैधानिक हुने बताए । उनले सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिए ।

यसैबीच पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् । उनले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गरेका छन् ।

हाल श्रीलंकामा निर्वासनमा रहेका नासिद प्रजातान्त्रिक तरिकाबाट निर्वाचित हुने माल्दिभ्सका पहिलो नेता हुन् ।

उनीमाथि सन् २०१५ मा आतंकवादको आरोप लागेको थियो । तर सर्वोच्च अदालतले त्यो आदेश राजनीतिक रुपमा अभिप्रेरित भएको ठहर गरेको छ ।

यसैबीच विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टीले अदालतको आदेशको पालना गर्न सरकारलाई आग्रह गरेको छ ।

विपक्षी दलका प्रवक्ता अब्दुल गफूरले सरकारले आदेशको पालना नगरेको भन्दै प्रधानन्यायाधीशसहित दुई जना वरिष्ठ न्यायाधीशलाई पक्राउ गर्न सरकारले प्रयास गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्