बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु, २० जना सिकिस्त

काठमाडौं, असोज २५ । बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।बाँकेको पालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ। उनको शनिबार राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो ।असोज ६ गते कोरोना संक्रमन पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताएका छन्। उनमा निमोनिया र स्वासप्रश्वासमा समस्या थियो ।

दुवै जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार भएको थिएन ।बाँकेको भेरी अस्पतालमा उपचाररत आठ जना र शिक्षण अस्पताल कोहलपुरका १२ गरी २० संक्रमित सिकिस्त अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

योसँगै बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्