प्रदेशसभा बैठक : कुन प्रदेशमा कहिले हुँदैछ सभामुखको निर्वाचन ?

काठमाडौं– एक र चार नम्बर प्रदेश बाहेकका ५ वटा प्रदेशमा पहिलो प्रदेश बैठक सम्पन्न भएको छ । एक र चार नम्बरको पहिलो बैठक माघ २२ गते बस्दैछन् । प्रदेश नम्बर १ को पहिलो बैठक माघ २२ मा बस्ने तय भएपनि दोस्रो बैठक माघ २९ मा बस्ने र त्यहि बैठकले सभामुख चयन गर्ने जनाइएको छ ।

संबैधानिक व्यवस्था अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र संसदबाट सभामुख र उपसभमुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ । यो सँगै दलहरुको ध्यान प्रदेश सभामुख चयनमा गएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बाम गठबन्धनको बहुमत रहेकाले ति प्रदेशमा उनीहरुले सभामुख र मुख्यमन्त्री सहित सरकार बनाउने तयारी गरेका छन् ।

जसका लागि बाम गठबन्धनले प्रदेश नम्बर ४ र ५ मा माओवादी केन्द्रका सभामुख हुनेछन् भने  बाँकी ४ प्रदेशमा एमालेबाट सभामुख चयन गर्ने सहमति भैसकेको छ । सभामुख उपसभामुख र मुख्यमन्त्रीमा दलहरुले भागबण्डा लगाएपनि व्यक्ति छनोट भने गरिसकेका छैनन । तर, प्रदेश संसदको पहिलो बैठक बसेसँगै ति प्रदेशमा सभामुख चयनको प्रकृया सुरु भएको हो । प्रदेश नम्बर १ र ६ र ७ मा माघ २९ गते सभामुखको निर्वाचन हुनेछ ।

त्यसैगरी २ नम्बर प्रदेशमा पनि फागुन २ गते सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको सो प्रदेशको पहिलो बैठकले  फागुन २ गते सभामुखको निार्वचन गर्नेगरी कार्यतालिका तय गरेको हो ।

यसअघि गत माघ १८ गते बसेको ३ नम्बर प्रदेशको पहिलो बैठकले माघ २७ गते अर्को बैठक बस्ने र त्यहि बैठकमा सभामुखको चयन गर्ने निर्णय गरिसकेको छ ।

४ नम्बर प्रदेशको पहिलो बैठक माघ २२ मा बस्नेछ । उक्त प्रदेशको तयार कार्यसूची अनुसार फागुन ३ गते सभामुखको निर्वाचन गरिनेछ । सोमबार ११ बजे बस्ने पहिलो बैठकका लागि तयार कार्यसूची अनुसार पहिलो बैठक सवा घण्टाको हुने छ ।

यसैगरी प्रदेश ५ को प्रदेशसभाको अर्को बैठक फागुन २ गते बस्ने गरी सकिएको छ  । यो प्रदेशमा फागुन २ गते नै सभामुखको निर्वाचन हुनेछ ।  आइतबार बसेको यो प्रदेशको पहिलो बैठकले  संसद सञ्चालनका लागि ५ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा नेकपा एमालेका कमलराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रका दधीराम न्यौपाने, नेपाली कांग्रेसका अष्टभूजा पाठक र राष्ट्रिय जनमोर्चाका तारा जिसी रहेका  छन् । पहिलो बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधि पनि पारित गरेको छ ।

प्रदेश ६ मा पनि माघ २९ गते नै सभामुखको निर्वाचन हुने भएको छ । आइतबार बसेको यो प्रदेशको पहिलो बैठकले पारित गरेको कार्यविधिअनुसार माघ २९ मा सभामुखको निर्वाचन गर्नेे कार्यतालिका सार्वजनिक गरेको हो ।

आइतबार सुर्खेतस्थित वीरेन्द्रनगरमा बसेको ६ नबर प्रदेशको पहिलो  बैठकमा ज्येष्ठ सदस्य हिमबहादुर शाहीले सभामुखको भुमिका निर्वाह गरेका थिए । यो प्रदेशको पहिलो बैठकमा एमालेका यमलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाकी सुशीला शाहीले बोलेका छन्  । ६ नम्बर प्रदेशमा ४० जना सांसदको प्रतिनिधित्व रहेको छ ।

प्रदेश नम्बर ७ ले पनि माघ २९ गते नै सभामुख पाउने भएको छ । आइतबार बसेको सो प्रदेशको पहिलो बैठकले माघ २९ गते सभामुखको निर्वाचन गर्ने गरी मिति तय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्