नेपालमा कोरोना संक्रमित अहिलेसम्मकै उच्‍च, कुन प्रदेशमा कति ?(विवरणसहित)

काठमाडौं , असोज २२ । निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उनले बताए । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको उनले बताए ।

बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वरेण्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उनले बताए । यस्तै उनले उपत्यकाका अस्पतालका शय्या लगभग भरिसकेकाले अति आवश्यक नपरि अस्पताल नजान आग्रह गरे । यसैबीच आज काठमाडौं उपत्यकामा २ हजार ८५ गरी नेपालमा अहिलेसम्मकै बढी ४ हजार ३ सय ६४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ६१ महिला र २८ सय ३ पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा कोरोना सक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा एक सातामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

आज देशभरि सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश १ मा १ हजार ६७, प्रदेश २ मा ५ सय १२, वाग्मती प्रदेशमा ७ हजार ८ सय ८४ र गण्डकी प्रदेशमा ४ सय ६१ जना छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ९०, कर्णाली प्रदेशमा ४४५ र सुदूरपश्चिम प्रदेशमा २५८ जना गरी ११ हजार ७ सय १७ जना संस्थागत आइसोलसनमा छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश १ मा १ हजार ८ सय २७, प्रदेश २ मा ४७५, वाग्मती प्रदेशमा ९ हजार ८ सय २८ र गण्डकी प्रदेशमा ५ सय ६५ जना छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय ४७, कर्णाली प्रदेशमा ३४९ र सुदूरपश्चिम प्रदेशमा ४७६ जना गरी देशभर १४ हजार ९ सय ६७ जना होम आइसोलेसनमा छन् ।

आज आईसीयूमा २३५ र भेन्टिलेटरमा ४२ जना संक्रमित उपचाररत छन् । आज २ हजार ६ सय ७५ जना डिस्चार्ज भएर घर फर्किएका छन् । आजसम्म प्रदेश १ मा ६ हजार २ सय २१, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ९१ वाग्मती प्रदेशमा २५ हजार ३ सय ५ र गण्डकी प्रदेशमा ४ हजार १ जना डिस्चार्ज भएका छन् । लुम्बिनी प्रदेशमा १० हजार २ सय ३८, कर्णाली प्रदेशमा ३ हजार ३ सय २६, सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ६१ गरी देशभरी ७१ हजार ३ सय ४३ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

यसैगरी सरबारले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरेको छ । दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यता निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्