प्रदेशसभाले अब केन्द्रको मुख ताक्नु पर्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेशसभा सदस्य शंकर पोखरेलले प्रदेशसभाको सुरुवात शून्यबाट सुरु गर्नुपर्दा केही कठिनाइ आउन सक्ने बताएका छन्।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसका अवसरमा बुटवलमा आयोजना गरिएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले नेपाल नयाँ युगमा प्रवेश गरेकाले प्रदेशसभाले अब केन्द्रको मुख ताक्नु नपर्ने बताए।
एक वर्षसम्म संघीयता कार्ययोजनामै बित्ने भन्दै उनले त्यसपछि संरचनात्मक विकास लगायतका कुराहरुमा प्रदेश सरकारले ध्यान दिने बताए। भावी मुख्यमन्त्री समेत रहेका नेता पोखरेलले अवरोध नआउने गरी विकास गर्नको लागि दीर्घकालीन सोचको विकास हुनुपर्नेमा जोड दिए।
‘व्यवस्थापकीय नेतृत्व लगायत पहिला सरकार प्रमुख र पछि व्यवस्थापकीय कार्य हुनुपर्ने हो,’ उनले भने, ‘तर अहिले उल्टो तरिकाले चलिरहेको छ।’
संघीयताको संरचना निर्माण लगायतका विषय जटिल भएको भन्दै उनले प्रदेशमा नै संरचनाका विषयमा पहिले छलफल भएर अघि बढ्नुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस्