आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै : नेपालमा क्यान्सर रोगीको संख्या बढ्दो

काठमाडौं । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउन हरेक वर्ष फेबरुअरी ४ मा विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाउने गरिएको छ । आज नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपाल अर्बुद रोग निवारण संस्था, नेपाल क्यान्सर अस्पताल लगायतका विभिन्न संघसंस्थाले विश्व क्यान्सर दिवस क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम गरेर मनाउने गरेका छन् ।

विभिन्न अध्ययनहरुले नेपालमा दिनप्रतिदिन क्यान्सर रोगी बढ्दै गएको देखाएको छ । नेपालमा क्यान्सर रोगका कारण वर्षमा १५ हजारको मृत्यु भइरहेको छ भने वार्षिक ४० हजार नयाँ बिरामी थपिने गरेका छन् । नेपालमा फोक्सोको क्यान्सर, नाक, कान, घाँटी, आमाशयको क्यान्सर मुख्य समस्या बनेको छ । त्यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुन्छ भने त्यसपछि स्तन क्यान्सर हुने गरेको छ ।

क्यान्सरको उपचार हुने सबै अस्पतालमा मुख र घाँटीको क्यान्सरका बिरामी बढ्दै गरेको देखिएको छ । अस्वस्थकर जीवनशैली, धूमपान र मद्यपान क्यान्सरको मुख्य कारकतत्व हो भने समयमै उपचार नगराउँदा पनि क्यान्सरबाट मृत्यु हुने क्रम बढेको चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्