सात प्रदेशमा ६ सय कर्मचारी खटाइए

काठमाडौं । सरकारले करिब ६ सय कर्मचारीलाई प्रादेशिक संरचनाका कार्यालयमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबारसम्म सातवटै प्रदेशका लागि कर्मचारी खटाएको जनाएको छ ।

प्रदेशमा पठाइएका कर्मचारीमा सहसचिव, उपसचिव, अधिकृतदेखि राजपत्रअनंकित तहका कर्मचारीसमेत छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

सामान्यले प्रदेशमा तत्कालका लागि स्थापना भएका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि करिब २२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ । ती कार्यालयका लागि हरेक दिन कर्मचारी खटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता न्यौपानेले प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरिसक्ने गरी तयारी भएको बताए ।

प्रतिक्रिया दिनुहोस्