राष्ट्रियसभा निर्वाचनः आज सवै केन्द्रमा मतपत्र पुग्ने

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि आजसाझ सम्ममा सवै मतदान केन्द्रमा मतपत्र पु¥याइसक्ने भएको छ । माघ २४ गते देशका ६ वटा प्रदेशमा राष्ट्रिय सभाको निर्वाचन हुदैछ ।

निर्वाचनका लागि सवै तयारी पुरा भैसकेको तथा आज सम्ममा निर्वाचन हुने ६ वटै प्रदेशका निर्वाचन केन्द्रमा मतपत्र पुगिसक्ने प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ । प्रदेश नम्वर दुइमा भने सवै उम्मेदवारहरु यसअघिनै निर्विरोध निर्वाचित भैसकेका छन ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि १२ हजार मतपत्र छपाइ गरेको जानकारी दिएको छ । निर्वाचन हुने प्रदेशमा १ हजार ६ सय ७७ मतदाता रहेकामा आयोगले १२ हजार मतपत्र छापेको हो ।

यसैबीच, राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगको मतगणना टोली आजसम्म सबै प्रदेशमा पुग्ने भएको छ । २ नम्बर प्रदेश बाहेक सबै ६ वटा प्रदेशमा ५-५ जनाको मतगणना टोली सम्बन्धित प्रदेशमा टोली पठाइएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भएका छन् भने बाँकी ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रियसभा निर्वाचन प्रदेश नम्बर एकमा विराटनगर, तीनमा ललितपुर, चारमा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा डोटीमा हुनेछ । निर्वाचनमा २ हजार ५६ जना कुल मतदाता छन् । आयोगले तीन दिन भित्र अन्तिम नतिजा सार्वजनिक गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्