प्रदेश नम्बर २, ५, ६ र ७ मा पहिलो प्रदेशसभा बैठक बस्दै

काठमाडौँ । आइतबार प्रदेश नम्बर २, ५, ६ र ७ मा पहिलो प्रदेशसभा बैठक बस्दैछ । बैठकका लागि सबैजसो प्रदेशसभा सांसदहरु आ–आफ्नो अस्थायी मुकाममा पुगेका छन् ।

चारवटै प्रदेशमा बस्ने प्रदेशसभा बैठकका मुख्यत तीन वटा एजेण्डा रहेका छन । प्रदेश प्रमुखको पत्र वाचन, अन्तरिम प्रदेशसभा सञ्चालन कार्यविधी पारित र सभामुखको चुनावको मिति तय गर्नु बैठकको मुख्य एजेण्डा हो ।

सबै प्रदेशले समृद्धिलाई मुख्य एजेण्डा बनाएका छन् । प्रदेश सदस्यको मन्तव्य पछि प्रदेशसभा बैठक सञ्चालन सम्बन्धी कार्यविधी २०७४ सभामा पेश हुनेछ । प्रदेशसभा बैठक पछि प्रदेशका सभामुख र उपसभामुख लगायतको विषयमा छलफल हुनेछ ।

यस्तै प्रदेशसभा बैठकका लागि दलहरुले पनि आवश्यक तयारी गरिसकेका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेपालले २ नम्बर प्रदेशको पहिलो प्रदेशसभा बैठकमा नेताको जिम्मेवारी बाँडफाँड गरेको छ । २ नम्बर प्रदेशमा मर्यादापालकलाई दौरासुरुवाल निषेध गरिएको छ ।

बैठकका लागि २ नम्बर प्रदेशमा रातभर काम गरी हल तयार पारिएको छ । यस्तै ५ प्रदेशको बैठकका लागि बुटवल खयरघारीमा रहेको उद्योग वाणिज्य संघको हल सजाइएको छ भने ७ नम्बरका लागि भाडामा कुर्सी ल्याइएको छ । प्रदेश नम्बर ६ मा पनि जेनतेन सभाहल तयार पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्