छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं, असोज १४ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ।झापा, कालीकोट, बारा र धनुषामा भएका सवारी दुर्घटनामा चारजनाको ज्यान गएको प्रहरीले जनाएको छ।

झापाको शिवसताक्षी नगरपालिका(८ स्थित सडकमा बा ११ च ५९९० नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया कमला चापागाईको मंगलबार बेलुका मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कालीकोटको तिलागुफा नगरपालिका(५, खल्लागार्ड पुल नजिकै सडकमा लु २ च २४१२ नम्बरको जीप अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा जिप चालक सुर्खेत भेरीगंगा नगरपालिका(१२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घट्नास्थलमै मृत्यु भएको छ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित सडकमा ना ६ त ८२८३ नम्बरको ट्याक्टरले ना ६२ प ८३८ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक हाल पहिचान नखुलेका करिब २२ वर्षीय पुरुषको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाइन अस्पताल सिमरामा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

धनुषाको गणेशमान चारनाथ नगरपालिका(१, छवघरियामा ज १ त ७९५१ नम्बरको ट्याक्टरमा ज ५ प २६४२ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाधाम नगरपालिका–७ किशनपुर बस्ने ३५ वर्षीय प्रमोद सहनीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनाहामा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्