दरबारमार्ग बलात्कार प्रकरण,चारै जना विरुद्ध किटानी जाहेरी

काठमाडौं । दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् ।
उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् ।आजको कान्तिपुरमा खबर छ ।

यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ ।काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् ।

बिहीबारयता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुनःबयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्