कोरोना प्रकोपः विदेशमा एक हप्तामा थप २१ नेपालीको मृत्यु

काठमाडौं , असोज ११ । कोरोना संक्रमणका कारण एक हप्ताको अवधीमा विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो।

शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुष्टि भएको छ। तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन्। समितिका संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार गएको साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई र अमेरिकामा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको हो।

यता यस्तै नेपालमा मात्र ७१ हजार ८ सय २१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४ सय ६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

यसैगरि कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका ७८ हजार ३ सय ४३ जनाको नेपालीको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्