राष्ट्रियसभा निर्वाचन : मतगणना टोली सम्बन्धित प्रदेश प्रस्थान

काठमाण्डौं । राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगको मतगणना टोली आज सम्बन्धित प्रदेश प्रस्थान गरेको छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी बुधबार हुँदैछ । प्रदेश नम्बर २ मा भने सबै ८ जना निर्विरोध भएकाले निर्वाचन गर्नु नपर्ने भएको छ ।

२ बाहेक अन्य सबै ६ वटा प्रदेशमा ५–५ जनाको मतगणना टोली सम्बन्धित प्रदेश गएको आयोग प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन हुने ५६ सिटमध्ये २४ जना निर्विरोध भएका छन् भने बाँकी ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धामा छन् । ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

यसैबीच, निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र मतदान स्थलमा पुर्‍याईसकेको प्रवक्ता ढकालले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचन प्रदेश नम्बर एकमा विराटनगर, दुईमा जनकपुर, तीनमा ललितपुर, चारमा पोखरा, ५ मा दाङ, ६ मा सुर्खेत र ७ मा डोटीमा हुनेछ ।

निर्वाचनमा २ हजार ५६ जना कुल मतदाता छन् । आयोगले तीन दिन भित्र अन्तिम नतिजा सार्वजनिक गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्