निर्वाचन नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा : भारत

काठमाण्डौं । भारतले संविधान कार्यावन्यनका क्रममा भएका तीनै तहको निर्वाचनको सफलता नेपालको स्थायित्व एवं लोकतान्त्रिक विकासमा कोसेढुंगा हुने विश्वास व्यक्त गरेको छ ।

विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्केपछि भारतीय विदेश मन्त्रालयले नयाँ दिल्लीमा वक्तव्य जारी गरी नेपालको संविधान र तीनै तहको सफल निर्वाचनको औपचारिक रूपमा स्वागत गरेको हो ।

भारतले वक्तव्यमा तीनै तहको चुनावपछि लामो समयपछि राजनीतिक संक्रमणकाल अन्त्य भएको र त्यो नेपालको स्थायित्व र विकासमा ‘कोसेढुंगा’बन्ने विश्वास व्यक्त गरेको हो ।

तीनै तहको चुनावमा मधेसी दलसहित जनताको ऐतिहासिक सहभागिता भएपछि भारतले निर्वाचनको सफलताको स्वागत गर्दै संविधानको समेत स्वागत गरेको हो ।

चुनावमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि नयाँ शिराबाट सम्बन्ध सुरु गर्न भारत अग्रसर भएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नयाँ बन्ने निर्वाचित लोकतान्त्रिक सरकारसँग दुई पक्षीय सम्बन्ध नयाँ उचाईमा लैजान आपसी हितको आधारमा सहकार्य गर्नेछौं ।

प्राथमिकताको आधारमा नै सरकारलाई हामी सहयोग गर्छौं ।’ नेपाल भ्रमणको क्रममा सबै पक्षसँग खुला, स्पष्ट र हार्दिक कुराकानी भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले स्वराजको नेपाल भ्रमण ‘सफल’ र ‘सम्बन्धलाई पारस्परिक हितको उचाइ’मा पुर्‍याउन सहयोगी बनेको जनाएको छ । नेपाल–भारत सम्बन्ध थप सकारात्मक दिशामा गएको टिप्पणीसमेत भारतको छ ।

प्रतिक्रिया दिनुहोस्