प्रदेशसभा पहिलो बैठकको तयारी तीव्र: कुन प्रदेशमा कस्तो ?

काठमाडौं – प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका ६ वटा प्रदेशमा बैठकको तयारी तीव्र पारिएको छ । प्रदेश ३ बाहेक अन्य ६ वटा प्रदेशमा, प्रदेशसभा पहिलो बैठकको तयारीलाई तीव्र पारिएको हो ।

प्रदेश नं १ को पहिला बैठक माघ २२ गते अपराह्न १ बजेदेखि शुरु गरिने तयारी भएको छ । यता प्रदेश २ मा संघीय फोरम र राजपाका शीर्ष नेता भने प्रदेशसभा बैठक तयारीका लागि जनकपुर पुगेका छन् । प्रदेशसभा बैठक २१ गते जनकपुरमा बोलाइएको छ ।

प्रदेश ३ को प्रदेशसभा बैठक भने बिहीबारै सम्पन्न भइसकेको छ । बैठकले आन्तरिक कार्यविधि पास गर्नुका साथै सभामुख चयनको प्रस्ताव पनि अघि बढाएको छ । सभामुख र उपसभामुख चयनका लागि माघ २७ र २८ गते बैठक बोलाइएको छ ।

प्रदेश ४ को प्रदेशसभा बैठक २२ गते प्रदेशमुकाम पोखरामा बोलाइएको छ । प्रदेशसभाका लागि आवश्यक पर्ने आधाजसो कर्मचारी खटिइसकेका छन् । प्रदेशसभा पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले गर्नुहुनेछ ।

यस्तै प्रदेश ५ मा भोलि प्रदेशसभा बैठक डाकिएकाले सोही दिन बिहान पार्टी बैठकमा तयारीबारे छलफल हुने सांसद शंकर पोखरेलले जानकारी दिनुभयो । सभामुखको निर्वाचन मिति तोक्ने, कार्यासम्पादन नियमावली पास गर्ने तथा सभामुख नहुँदासम्म सभा सञ्चालन गर्ने व्यक्ति तोक्ने एजेन्डा भएकाले पहिलो बैठक औपचारिकतामै सीमित हुने पोखरेलले बताउनुभयो ।

यसैबीच, प्रदेश ६ को बैठक पनि भोली नै बोलाइएको छ । यता, प्रदेश ७ को प्रदेशसभा बैठक भोलिका लागि धनगढीमा बोलाइएको छ । एमालेले सोही दिन सांसदलाई सामान्य ओरियन्टेसन दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्