बढ्यो कोरोना ग्राफ, उपत्यकामा थपिए ६७६ जना संक्रमित

काठमाडौं, भदौ ३० । नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। मंगलबार भने एकै दिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो। यता पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ६४० रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १४९ जना रहेका छन्। क्वारेन्टाइनमा सात हजार २५० जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार मोरङ, सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, र रुपन्देहीमा कोरोनाका पाँच सय बढी बिरामी रहेका छन् भने सोलुखु्म्बू, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्ला, मुगु र हुम्ला कोरोनाका शून्य बिरामी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्