‘प्रतिनिधिसभाको नतिजा फागुन ५ भित्र’

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक विजयी उम्मेदवारको नाम प्रस्तावित गर्न दलहरूलाई दिइने समयसीमा घटाएको छ । आयोगले समानुपातिक निर्वाचन निर्देशिका संशोधन गरी ७ दिनलाई ३ दिनमा झारेको हो ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिनिधिसभा परिणाम ढिलो भएकोमा आलोचना बढेपछि केही दिन छिटो दिन आयोगले निर्देशिका संशोधन गरेको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको अन्तिम नतिजा फागुन ५ भित्र दिने तयारी छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले प्रतिनिधिसभाको परिणाम कसरी छिटो दिन सकिन्छ भन्ने उपाय निकाल्ने क्रममा निर्देशिका संशोधन गरिएको बताए ।

‘संवैधानिक र कानुनी प्रावधानका कारण प्रतिनिधिसभा निर्वाचन परिणाम दिन राष्ट्रिय सभा निर्वाचन पर्खिनुपरेको हो,’ उनले भने, ‘राष्ट्रिय सभा निर्वाचन परिणामपछि द्रुत गतिमा काम गरेर प्रतिनिधिसभाको परिणाम दिने आयोगको तयारी छ ।’
पौडेलले ढिलोमा फागुन ५ गते प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाइसकिने बताए ।

उनका अनुसार राष्ट्रिय सभाको परिणाम माघ २५ गते आइसक्ने र माघ २६ गते समानुपातिकको नामावली बुझाउन दलहरूलाई ३ दिन समय दिएर पत्राचार गरिने तयारी छ । दलहरूले नाम बुझाउने अवधि माघ २९ सम्म पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्